online casino
कोरोना छिचोल्दै च्छो रोल्पा
  • Old Baneshwor-9, Kathmandu, Nepal 44600
  • (977) 9841351818
  • info@wwrf.org.np
In news,recentnews

कोरोना छिचोल्दै च्छो रोल्पा

संसारै कोरोना भाईरसको कहरमा थियो, नेपाल यसबाट अछुतो रहने कुरै भएन ।

तर हामीलाई कोरोनाको कहरले भन्दा दोलखास्थित रोल्वालिङ भ्यालीको सुन्दरताले लोभ्याइरहेको थियो । चैत्र ७ गते शुक्रबार झिसमिसेमै किर्तिमानी सगरमाथा आरोही फुर्वा तेन्जिङ शेर्पा, महिला आरोही रोजिता बुद्धाचार्य, संचारकर्मी एवं ईभेन्ट म्यानेजर प्रभात रिमाल र म सहित चारजनाको टोली रोल्वालिङको सुन्दर सेताम्य हिमाल सम्झिदै रत्नपार्क हानियौं ।

पाँच बजे छेतछेतका लागि गुड्ने भनेको बस ५ः४५ सम्म टसका मस भएन । यात्राको पहिलो प्वाइन्ट भएकाले उत्सुकतापूर्वक बसभित्रै पहिलो सेल्फी खिचियो । बस भरिभराउ थियो । केहीबेरमै सिंहदरबार, कोटेश्वर, बनेपा, खाँडीचौर, चरीकोट, सिंगटी हुँदै बस हुईकियो । धुलिखेल पुग्दा नपुग्दै दूर क्षितिजमा सेताम्य हिमाल देखिन सुरु भइसकेका थिए ।

हो, हाम्रो गन्तव्य त त्यही क्षितिजमा देखिएको हिमाल चुम्नु थियो । कौतुहलता अझ बढेर गयो । सँगै सिटमा बसिरहनु भएका प्रभात दाई बेला –बेला मोबाईलबाट बाहिरको दृश्य कैंद गर्दै हुनुहुन्थ्यो । उहाँमा अझ बढी उत्सुकता किन पनि थियो भने रोल्वालिङ यात्राका लागि हामी सबैलाई हौंस्याउने उहाँ नै पहिलो हुनुहुन्थ्यो । दर्जनौं पाखापखेरी, हिमाल, पहाड, नदी छिचोल्दै साँझ करिब ४ः३० बजे हामी छेतछेत पुग्यौं जो हामी टे«किङ सुरु हुने पहिलो गन्तव्य थियो ।

फुर्वाले अघिल्तिरको ठाडै अग्लो पहाड देखाउँदै भने हामी यही बाटो हुँदै जानुपर्छ । १४ पटकसम्म सगरमाथा आरोहण गरीसकेका उनलाई यो पहाड हात्तीको मुखमा जिरा हुँदो हो । तर पहिलोपटक यति लामो टे«किङमा निस्किएको मेरो मुटु भने केहीबेर टक्क रोकिएको अनुभूति भयो ।

हाम्रो साथमा अर्की सगरमाथा आरोही रोजिता पनि थिइन । त्यसैले पनि हामी गन्तव्यमा पुग्नेमा ढुक्क थियौं । उनले केहीबेर अगाडीका गन्तव्यबारे बेलिविस्तार लगाइन । अनि हाम्रो यात्रा सिमिगाउँ तर्फ अघि बढ्यो । झोलुङ्गे पुल तर्दै गर्दा सुरुमै छो रोल्पा ताल बाट बग्दै आएको सङ्लो पानीले मन प्रफुल्लित बनायो । करिब १ः३० घण्टा ठाडै उकालो छिचोलेपछि दुई हजार मिटर उचाईमा अवस्थित सिमिगाउँ देखियो । वरपर बारीका कान्लामा गहुँ रोपिएका थिए । वरपर हरिया जंगल, माथिबाट देखिएको नागबेली सडक र स्वच्छ शान्त वातावरणले थकानै मेटायो । रोजिताको यो दोस्रो भ्रमण थियो ।

रोमाञ्चित देखिएकी उनले यो ठाउँलाई स्र्वगसँग दाँज्दै भौगोलिक, सांस्कृतिक धार्मिक र जातिय विविधता एकैठाउँ हेर्न सकिने नेपाल नै हो भन्दै व्याख्याइन । हाम्रो पहिलो दिनको बसाई सिमिगाउँ थियो । साँझ परिसकेको थियो । गौरीशंकर हिमाल अघिल्तिर उभिएर प्रभात दाईले वि विल राईज फाउण्डेसनका सबै सदस्यलाई सम्झिदै यो रेकी ट्रिपमात्र भएको र अर्कोपटक पुनः सबैजना आउनुपर्ने बताए ।

विहान सबेरै उठ्यो । चियानास्तापछि हाम्रो यात्रा क्याल्चेतर्फअघि बढ्यो । यात्रा सुरु मात्र के भएको थियो । राताम्यै लालीगुराँसका जंगलले हामीलाई स्वागत गर्यो । केहीबेर ती फूलतर्फ क्यामराका लेन्स तेर्सिए । सिस्नेरी, सुरमुचे हुँदै अघि बढेको करिब ९ घण्टाको पैदल यात्रामा रंगीबिरंगी लालीले पछ्याईरहे । यसको सुन्दरताले बाटो छिचोल्न सहज बनायो । उक्तदिन २,८१० मिटरमा रहेको क्याल्चेको बासपछि यात्रा बेदिङतर्फ मोडियो । गौरीशंकर हिमाललाई पछ्याउँदै अघि बढेको हाम्रो यात्रा सेताम्य हिमाल र छो रोल्पा किनार हुँदै साँझ बेदिङ पुग्यो जो हाम्रा नाइके फुर्वाको गाउँ थियो । वरवर हातैले छोउला झै लाग्ने हिमालले टोलीको मन रोमाञ्चित बनायौं । ब्याग बिसाएर सिधै फुर्वाको घर पुग्यौं । बुढी आमाले तातो चिया र उसिनेको आलुले स्वागत गर्नुभयो । चौरीको छुर्पी पिधेर बनाइएको चट्नी लोकल आलुसँग चोबेर खादाको स्वाद खै कसरी बयान गरुँ । आज थकान अलि बढी नै थियो ।

खानपिन सकिनासाथ निद्रादेवीले अंगालो मारिहालिन । बिहान करिब ६ बजेको हुँदो हो । चिम्सो आखाँबाट झ्यालबाहिर चिहाएको मात्र के थिए ती बन्दजस्तै आखाँ एक्कासी खुलेर आए । रातभरको हिमपातले बाहिरी दृश्य अघिल्लो साँझभन्दा विल्कुल फरक थियो । वरपरका डाडा र बेदिङ गाउँ नै सेताम्य भएर ढाँकिएका थिए । हामीले विरलै मात्र देख्ने गरेको यस्तो वातावरणले मनै रोमाञ्चित बनायो । बाहिर निस्कियौ । हिजो पैदल यात्रा गर्दै आएको बाटो पहिल्याउन मुश्किल थियो । चारैजना विस्तारै तल झर्यौं । हिउँसँग मज्जाले खेल्यौ । मन भरिने गरी तस्बिर खिच्यौं । बाक्लो हिउँका कारण आजको यात्रा ३,७२१ मिटर उचाईबाट अघि नबढ्ने पक्का थियो ।

अर्को दिन सबेरै नातर्फ लाग्यौं । अघिल्लो दिन परेको हिउँका कारण बाटो सहज थिएन । तरपनि मन प्रफुल्लित थियो किनकी हाम्रो लक्ष्य नेपालकै ठूलो हिमताल च्छो रोल्पासम्म पुग्नु थियो । ४,२०० मिटरमा अवस्थित सुन्दर ना गाउँमा हाम्रा सरदार फुर्वाद्धारा संचालित जोसेफ फुर्वा लजको एकदिने बसाईपछि घाम झुल्किनुअघि नै च्छो रोल्पातर्फ लाग्यौं । घाम चर्किएपछि हिउँ पग्लिने र सोहीदिन ना फर्किनुपर्ने चुनौती जो थियो । बाटो हिउँले सेताम्य थियो । फुर्वा र रोजिताजस्ता परिपक्व सरदार हामीसँगै रहेकाले हिमाली यात्रा सहज बनिरहेको थियो ।

२ घण्टाको हिडाईपछि थकान मेट्न केहीबेर सुस्ताइयो । फुर्वाले अघिल्तरको डाँडातर्फ औंला सोझ्याउँदै भने, ‘अब त्यति डाँडो उक्लानासाथ ताल देखिन्छ’, मनै रोमाञ्चित बन्यो । अनि टोली उनलाई पछ्याउँदै अघि बढ्यो । बाक्लो हिउँ जमेको डाँडो छिचोल्दै गर्दा थाहा लाग्यो यो पार गर्न हामीले सोचेजस्तो सहज रहेनछ । केहीबेर अघिको हाम्रो रोमाञ्चकता पुरै सेलायो । कतिपय ठाउँमा हिउँ हामीले कल्पनै नगरेको कम्मरसम्मै थियो । हिडाईले शरीर तातिएको भएपनि मन चिसो भएर आयो । लाग्यो, ‘कतै हिउँमै पुरिने त होईन…।’ उता फुर्वा भने निरन्तर ढाड्स दिइरहेका थिए ।

उनी अघि अघि बाटो बनाउँदै गर्दा हिउँ निरन्तर भाँसिएको थियो । हाम्रा टोलीका पाका प्रभात दाई अघि बढने कोशिस गरिहनु भयो तर हिउँ भासिने क्रम नरोकिएपछि केही जोर जलेन । ‘मलाई कर नगर, सकिन, म फर्कन्छु’, । फुर्वाले निरन्तर हिम्मत दिलाएपछि रोजिता र म भने अगाडी बढ्यौं । अन्तत हामी चुचुरो चुम्न सफल भयो । चुचुरोमा टेकेका मात्र के थियो, सेताम्य दही झै जमेको छो रोल्पा तालले मत्रमुग्ध बनायो । ‘वाउ, दिस ईज सो एम्याजिन’, ४,५८० मिटरको उचाईमा हामी तीनैजना तालै गुञ्जाएमान हुनेगरी एकैपटक चिच्यायौं ।

उक्त तालमा करिब डेढ घण्टाको समय बितेको पत्तै भएन । अनगिन्ती तस्बिर र भिडियो लियौं । किनकी यो यात्राको उद्देश्य हामी घुम्नु मात्र थिएन । ‘मेरो गाउँ, मेरो ठाउँ’, अभियानमार्फत विश्वलाई दोलखामा रहेको रोल्वालिङ भ्याली र यो तालका बारे वृत्तचित्रमार्फत चिनाउनु पनि थियो । सोही तालमा अघिल्तिर उभिएर हामीले त्यही आह्वान गर्यो जो विभिन्न क्षेत्रका तीनसय बढीले गरिसक्नुभएको छ ।

जब चिनिनेछ तपाईको आफ्नो गाउँठाउँ

तब खुल्नेछ तपाईको आफ्नो पहिचान

मौंका यही हो, आफ्नो गाउँठाउँलाई संसारभर चिनाउँने

मेरो गाउँ, मेरो ठाउँ

 

  •  शब्द/ तस्बिर – निर्मल श्रेष्ठ
  •  मङ्लबार, चैत्र १८, २०७६

Leave a Reply