काठमाडौँ — देशभरका सबै गाउँमा पर्यटकीय जागरणको सन्देश फैलाउने उद्देश्य बोकेर आरोही फुर्वा तेन्जिङ शेर्पा ‘मेरो गाउँ, मेरो ठाउँ’ अंकित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउँदै छन् ।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै ओझेलमा परेका पर्यटकीय स्थलहरूको खोजी गर्ने देशव्यापी अभियान ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता अभियान हो ।
भिडियो अभियानले ओझेलमा रहेका पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण गाउँठाउँ, प्राकृतिक, संस्कृतिक, भेषभूषा, जातजातिको पहिचान, खानपान, कलालगायतका विषयमा केन्द्रित पाँच मिनेटसम्मको भिडियो बनाउन सार्वजनिक आहवान गरेको छ । जनवरी १ देखि सुरु भएको प्रतियोगिताको समयसीमा ३१ मे २०१९ सम्म रहेको छ । यो अभियान वी विल राइज फाउन्डेसन (हामी उठ्नेछौं) ले देशभर सञ्चालन गरिरहेको छ ।
फाउन्डेसनले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा १३ औंपटक सगरमाथाको आरोहण गरिसकेका गिनिज बुक अफ वर्ल्ड रेकड होल्डर शेर्पासँग अभियानको झन्डा सगरमाथामामा पठाउन लागेको हो । आरोही शेर्पाले मुलुकको प्रत्येक गाउँठाउँमा पर्यटन जागरण सन्देश फैलाउने अभियानको प्रयासअनुरूप आरोहणको १४औंपटकको याक्रामा चुचुरोमा जान लागेकामा खुसी व्यक्त गरे ।